द्वापरयुगको महाभारत कालखण्डमा पाण्डवहरु अज्ञातरुपमा वास बसेको विभिन्न ऐतिहासिक तथ्यबाट प्रमाणित भएको झापाका विभिन्न धार्मिकस्थलको आवश्यक प्रचारप्रसार गर्नसके लाखौंको सङ्ख्यामा पर्यटक भित्र्याउनसकिने सम्भावना देखिएको छ ।
महाभारतकालमा पाण्डवहरु अज्ञात वास बसेका स्थलमा किच्चक बधस्थल, अर्जुनले वाण प्रहार गरी पृथ्वीबाट जलधारा प्रवाह गराएको अर्जुनधारा, गुप्तवासका बेला अस्त्रशस्त्र लुकाएर राखेको मन्दिर सतासीधाम, चिल्लागढ, राजा विराटको विराटपोखरी, कृष्णथुम्कीलगायतका दर्जनौं धार्मिक स्थलमा पर्यटकलाई आकषिर्त गर्न सकिने छ । ती स्थल पर्यटन वर्ष २०११ सफल बनाउनका लागि समेत नयाँ गन्तव्यस्थल बन्नसक्ने विश्वास गरिएको छ ।
अर्जुनधाराधाम
अर्जुनधारा गाविस-४ स्थित अर्जुनधाराधाम झापाको प्रसिद्ध धार्मिकस्थलमध्ये एक हो । अर्जुनले महादेवकोे आराधना गरी जमिनमा प्रर्जन्य अस्त्र -पानी निकाल्ने यन्त्र) प्रयोग गरी वाणको माध्यमले पानी निकाली गाईलाई जल खुवाएको र त्यो पानी निरन्तर धाराका रुपमा बगिरहेकाले यस स्थानको नाम अर्जुनधाराधाम रहन गएको किंवदन्ती छ ।
सो मन्दिर परिसरस्थित पोखरीको मध्य भागमा अर्जुनले वाण प्रहार गरी निकालेको जल गाईलाई खुवाइरहेको मूर्ति निर्माण गरिएको छ । प्ाोखरीमा निर्माण गरिएको अर्जुन र गाईका मूर्ति महाभारतकालको उक्त घटनाको सम्झना गराउन तथा पर्यटकलाई आकषिर्त गर्न सकोस् भन्ने उद्देश्यले प्रेरित छ ।
मन्दिर परिसरमा भक्तजनलाई पूजापाठका लागि महादेव, गणेश, नाग, हनुमान र सरस्वतीका मूर्ति स्थापना गरिएका छन् । मन्दिरमा नियमित पूजापाठका साथै भजनकीर्तन हुन्छ । मन्दिर परिसरमा धार्मिक एवम् सामाजिक कार्य सम्पन्न गर्न विवाह, ब्रतबन्ध, कर्मकाण्ड र यज्ञ क्रियापुत्रीका लागि कक्ष निर्माण गरिएका छन् ।
यिनै कारणले मुलुकको पूर्वीक्षेत्रका साथै भारतका दार्जिलिङ जिल्ला र सिक्किम राज्यका मानिस पनि वैवाहिक एवम् धार्मिक अनुष्ठान गर्न अर्जुनधाराधाम आउँछन् ।
सो धाममा सञ्चालित वेद विद्यापीठमा ब्राहृमणका अतिरिक्त दलित जातका विद्यार्थीलाई समेत शिक्षा दिई उदाहरण प्रस्तुत गरिएको छ । यस धाममा हरेक वर्ष बालाचतुदर्शीका दिन आ-आफ्ना पितृउद्धारका लागि शतबीज छर्न नेपालको पूर्वीक्षेत्रका साथै भारतका हजारौं मानिस आउने गर्छन् ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाखण्डको बिर्तामोडदेखि पाँच किलोमिटर उत्तरस्थित सो स्थानमा पुग्न बस र ट्याक्सी सजिलैसित पाउन सकिन्छ । सरकारले सो स्थललाई धार्मिक एवम् पर्यटकीयस्थलका रुपमा अगाडि बढाउनका लागि २०५५ सालमा अर्जुनधाराअङ्कित हुलाक टिकटसमेत प्रकाशन गरेको थियो । सरकारले सो क्षेत्रको विकासमा अझ बढी प्रचारप्रसार गरी ठोस कार्यक्रम ल्याउने अपेक्षा स्थानीय बासिन्दाले गरेका छन् ।
सो ऐतिहासिकस्थलको विकासका लागि हाल रु ४५ लाखको लागतमा ढुङ्गेधारासहितको अर्धचन्द्राकार पोखरीको निर्माण भइरहेको अर्जुनधाराधामका प्रमुख व्यासाचार्य पुष्पलाल निरौलाले बताउनुभयो ।
किच्चक बधस्थल
पाण्डवपुत्र भीमले राजा विराटका सेनाध्यक्ष किच्चकको बध गरेको स्थल झापामै पर्छ । सदरमुकाम भद्रपुरदेखि १४ किमि दक्षिणस्थित पृथ्वीनगर-५ र महेशपुर-३ को सङ्गमस्थलका रुपमा किच्चक बधस्थल पर्छ । प्रचारप्रसारको कमीका कारण यो धार्मिक एवम् पुरातात्विक स्थल ओझेलमा पर्दै गएको महसुस गरिएको छ ।
दस बिघा क्षेत्रफलमा फैलिएको उक्त स्थलमा एउटा सानो पोखरी पनि छ । किच्चकको बध गरेपछि शरीरमा लागेको रगत पखाल्नका लागि त्यहाँ भीमले जमिनमा जोडले मुक्का हानेपछि निस्केको जलबाट नै पोखरी बनेको किंवदन्ती छ । जस्तोसुकै सुख्खायाममा पनि कहिल्यै पानी नसुकेको स्थानीयवासीको भनाइ छ । पोखरीमा स्नान गरेपछि विभिन्न रोगबाट मुक्ति पाउने विश्वास छ । पोखरीको डिलमा सत्यदेवी- भगवतीको मन्दिर, गङ्गा-जमुना मन्दिर, शिवालय र ऐतिहासिक कुवा पनि छन् ।
सोही स्थानमा भीमले किच्चकसित मल्लयुद्ध गरिरहेका बेलामा किच्चकलाई पछार्दै उनको छातीमा बसेर घाँटी थिचिरहेको अवस्थाको मूर्ति निर्माण गरिएको छ । त्यतिखेर पाण्डव अज्ञात वास बिताउन छद्मवेशमा राजा विराटको दरबारमा बस्थे । विराटका सेनापति एवम् सालोसमेत रहेका किच्चकको आँखा एक दिन द्रौपदीमाथि परेछ । उनले द्रौपदीलाई जबर्जस्ती गर्न खोजेपछि प्रतिरोधस्वरुप भीमसेनले उक्त स्थानमा किच्चकको बध गरेको विश्वास गरिन्छ ।
पुरातत्व विभागले २०५९ सालमा सो स्थानको उत्खनन गर्दा आठकोठे दरबारमा पुरातात्विक महत्वका वस्तु र माटाका भाँडाका टुक्रा फेला परेको थियो । कारणवश उत्खनन बीचमै रोकिएकामा यस वर्ष पुनः सुरु हुने सम्भावना छ ।
यसलाई पर्यटकीयस्थलका रुपमा विकास गर्न किच्चक बधस्थल संरक्षण समितिले सरकारसमक्ष रु.११ करोडको गुरुयोजनासमेत पेस गरिसकेको छ । किच्चकबध संरक्षण समितिका अध्यक्ष दिलकुमार थेवेले किच्चक बधस्थललाई धार्मिक एवम् पर्यटकीयस्थलका रुपमा विकास गर्न भद्रपुरदेखि सो स्थलसम्म पक्कीसडक निर्माण र गुरुयोजनाको कार्यान्वयन गर्नेतर्फ चाँडै पहल गर्न सरकारलाई आग्रह गर्नुभयो ।
उक्त स्थलको पर्यटन विकास, पुनः उत्खनन, नौका विहारका लागि पोखरी निर्माण र बाटोघाटो निर्माण तथा देवनिया नदी नियन्त्रणका लागि गुरुयोजना पेस गरिएको किच्चकबध संरक्षण समितिका सचिव मदनकुमार कँडेल बताउनुहुन्छ । यस स्थानमा श्रीस्वस्थानीको ब्रत समापन भएपछि ठूलो मेला लाग्ने गर्छ ।
सतासीधाम
म्ाहाभारतकालमा पाण्डव गुप्तवास बस्न विराटको दरबारमा नोकरी गर्न जानुभन्दा पूर्व उनीहरुले आफ्ना शस्त्र सतासीधामकै मन्दिरमा लुकाएर राखेको विश्वास गरिन्छ । एकपटक पृथ्वीमा ठूलो अनिकाल परेपछि सतीदेवीले आफ्ना सयवटा आँखाबाट अश्रुवषर्ा गरी खोलो बगाउँदा तिनै देवीको नामबाट सतासीधाम रहेको धार्मिक विश्वास छ । पूर्वपश्चिम राजमार्गको झापाखण्डको झिलझिलेबाट दुई किलोमिटरको दूरीमा चुरे पहाडसँगै अवस्थित सतासीधाम गाविस वडा नं.९ मा सतासीदेवी मन्दिर छ ।
हिमालयकी छोरी पार्वतीको विवाह विष्णुसित गराउने चर्चा चल्न थालेपछि पार्वतीको लुक्ने ठाउँ सतासीधाम रहेको विश्वास गरिएको छ । यहाँ मङ्सिरमा बालाचतुदर्शीको अवसरमा तीन दिन र माघेसङ्क्रान्तिमा एक दिन मेला लाग्छ । मेला भर्न नेपालको पूर्वीक्षेत्रका साथै भारतका हजारौं भक्तजनसमेत आउँछन् ।
सतासीधामदेखि उत्तर माईनदीको किनारैकिनार गएपछि अप्ठेरो भिरमा एउटा गुफा रहेको छ । गुफाभित्र शिवलिङ्गजस्तो देखिने स्थानसमेत छ । सो गुफा पाण्डव गुप्तवासको समयमा भीमले लुकेर बस्ने ठाउँ बनाएको विश्वास गरिएको छ । पूर्वपश्चिम राजमार्गबाट पाँच किमिको दूरीमा उक्त गुफा अवस्थित छ । यसक्षेत्रको विकास गर्न सकिएमा धार्मिक पर्यटक निरन्तर आइरहने विश्वास गरिएको छ । यसस्थानमा वनभोजका लागि पनि मानिस आउँछन् ।
यस स्थल म्ाहादेवलाई छक्याउनका लागि पार्वती लुकेर बसेको स्थलका रुपमा रहेको विश्वास पनि गरिन्छ ।
प्ाार्वतीको अर्को नाम सताक्षी रहेको र सय आँखा भएकी भगवतीको नाम अपभ्रंश हुँदै सतासीदेवी नामकरण भएको मेची बहुमुखी क्याम्पसका प्रमुख चिन्तामणि दाहाल बताउनुहुन्छ ।
चिल्लागढ
अज्ञात वासकालमा पाण्डवले गाईलाई पानी खुवाउन र आफूहरु स्नान गर्न निर्माण गरेको कुण्ड हो चिल्लागढ । पाण्डवले बसोबास गरेको क्षेत्र र यज्ञ गर्ने स्थल चिल्लागढ भएको धार्मिक विश्वास छ । सतासीधाम-७ मा पर्ने चिल्लागढ पोखरीक्षेत्रलाई किराँतले आफ्नो धार्मिकस्थलका रुपमा पूजापाठ गर्दै आएका छन् ।
एक बिघा क्षेत्रमा चारकुने रुपमा फैलिएको उक्त पोखरीको चारैतिर ६/७ फिटको उचाइमा माटोको घेरा उठाएर किल्लाको स्वरुप दिएको देखिन्छ । पोखरी वरपर शिव मन्दिर र कुटी रहेका छन् । यसको जीर्णोद्धार गरी व्यवस्थित बनाइएको पोखरी व्यवस्थापन समितिका अध्यक्ष तिलबहादुर कटुवालले जानकारी दिनुभयो ।
विराटपोखरी
चारपाने गाविसमा अवस्थित विराटपोखरी राजा विराटको पोखरी भन्ने विश्वास गरिन्छ ।
राजमार्गको बिर्तामोडदेखि चार किलोमिटर दक्षिणमा रहेको एक बिघाक्षेत्रमा फैलिएको यो पोखरीमा पुग्नका लागि सवारीसाधन सजिलै पाइन्छ ।
विराटका गाईगोरुलाई पानी खुवाउनका लागि यो पोखरी निर्माण गरिएको कहावत छ । ध्ाार्मिक आस्थाको सो पोखरी अवलोकन गर्न आउने पर्यटकलाई आकषिर्त नौका विहारको समेत व्यवस्था गरिएको छ ।
कृष्णथुम्की
पूर्वोत्तर बाहुनडाँगी-७ स्थित मेची र सिद्धि नदीको सङ्गममा अवस्थित कृष्णथुम्की धार्मिक एवम् ऐतिहासिक दृष्टिकोणबाट महत्वपूर्ण छ । वरिपरि समथर जमिन रहेको स्थानमा भरिएको पाथीजस्तो चुलिएर बसेको कृष्णथुम्की द्वापरयुगमा कृष्णले गाई चराएको स्थानका रुपमा विश्वास गरिन्छ ।
कृष्णथुम्कीमा एउटा चेप्टो ढुङ्गामा मानव र गाईको पदचिहृन अङ्कित छ । यसका साथै अन्य पाँचवटा थुम्कीसमेत रहेका छन् । यसलाई पाँच पाण्डवको प्रतीकका रुपमा विश्वास गरिन्छ ।
यो स्थान काँकरभिट्टादेखि १३ किलोमिटर उत्तरमा अवस्थित छ ।
हाल नेपाल भ्रमणमा आउने तेस्रो मुलुकका पर्यटक भारत हुँदै आउने र भारतीय पर्यटकसमेत सिधै काँकरभिट्टाबाट काठमाडौं, पोखरालगायतका स्थानमा जाने गरेका छन् । पर्यटन तथा नागरिक उड्यन कार्यालय, काँकरभिट्टाका प्रमुख पीताम्बर बजगाईं पूर्वी नाका काँकरभिट्टाबाट नेपालमा बङ्गलादेश र भारतका साथै तेस्रो मुलुकका पर्यटक भित्रिने गरेकाले उनीहरुलाई यहाँका पर्यटकीयस्थलबारे जानकारी गराउनका लागि सबैको सहयोग अपरिहार्य भएको बताउनुहुन्छ ।
प्रभाषचन्द्र झा
No comments:
Post a Comment