झापाको दमक-१९ मा साप्ताहिक हाटका लागि स्थानीय तीनजनाले रु ३० लाख बराबरको जग्गा निःशुल्क प्रदान गरेका छन् । सो ठाउँमा हाट लगाउन स्थानीय रतन श्रेष्ठ, तिलक श्रेष्ठ र रीता श्रेष्ठले जनही तीन कट्ठा जग्गा निःशुल्क प्रदान गर्नुभएको हो ।
वडा नम्बर १९ को सेतुमारीमा प्रत्येक मङ्गलबार लाग्ने गरी सो हाट आजबाट सुरु भएको छ । सो हाटको दमक नगरपालिकाका कार्यकारी अधिकृत पशुपतिराज खतिवडाले उद्घाटन गर्नुभयो । नगरपालिकाभित्र रहेर पनि सहरी क्षेत्रभन्दा टाढा रहेकाले दमक बजारको निर्भरता कम गर्न सो हाट सुरु गरिएको बजार व्यवस्थापन समितिका अध्यक्ष सिंहबहादुर देवानले बताउनुभयो ।
सो हाटमा दैनिक उपभोग्य वस्तु, कृषि उपजलगायतका वस्तु खरिद बिक्री हुने र बजारलाई क्रमिकरूपमा विस्तार गरिने समितिले जनाएको छ । यसैबीच दमकमा आज नगरस्तरीय शान्ति समिति गठन भएको छ । ११ सदस्यीय सो समितिमा इन्द्र पाठक, बलभद्र अधिकारी, बोधराज घिमिरे, विष्णु अधिकारी, रामआशिस शाह, दुर्गा तिम्सिना, राम थापा, तारा शाही, शकुन्तला .सुब्बा, पदम जवेगू र कल्पना तामाङ रहनुभएको छ ।
समितिले सशस्त्र द्वन्द्वको समयमा भएको क्षतिबारे अध्ययन गरी पीडितहरूलाई राहतका लागि सरकारलाई सिफारिस गर्ने बताइएको छ ।
No comments:
Post a Comment