Monday, June 28, 2010
गर्मीमा ग्ल्यामरस्
मौसम उखरमाउलो बनेको छ । गर्मीले शरीरका कपडा कहाँ फालुँ भएको छ । कम कपडा लगाउने फेसनलाई साथ दिएको छ गर्मीले । अनि राजधानीका मेट्रो युवती किन नलगाउन छोटा कपडा । बाहिर बजारमा निस्कँदा पुरै अंग ढाक्ने युवती त चामलमा बियाँ बन्न लागिसकेका छन् । हुन पनि गर्मी भनेको गर्मी नै हो त्यो मौसमको पनि हुन सक्छ उमेरको पनि अनि वैंशको । उमेरमा नै हो राम्रो देखिने अनि फस्ट र सेकेण्ड लुक खाने । त्यसैले फेसनको समर संस्करणमा आफ्नो कायामा वैंशालु छायाँ पारेर हिँडेका देखिन्छन् युवती । यसै पनि उमेरको गर्मी त्यसमाथि पाश्चात्य फेसनको नक्कल त्यसलाई साथ दिएको मौसमले अनि आधा अंग बाहिर र आधा भित्र पर्ने समर फेसन किन नदिउन आधुनिक युवा जमातले ।
बानेश्वरकी ५५ वर्षीय तृष्णा मानन्धरलाई छोरी दीपाले गर्मीकै लागि भनेर दुई जोर नयाँ कपडा किनिदिएकी छिन् ।
‘छोरीको रोजाइ र फेसन सुझावलाई मान्नै पर्यो । मलाई त लाजै लाग्छ भन्या यस्ताखाले कपडा लगाउन ! ‘ उनले बाहुला छोट्याइएका र गला तलैसम्म काटिएका ब्लाउज देखाउदै भनिन् । युवा पुस्ताको रूची चाहना र सोखले अघिल्लो पुस्तालाई धेरथोर असर पुर्याएको छ ।
वागबजार, पुतलीसडक वा न्यूरोडका गल्लीतिर बसेर हेर्यो भने मात्र गर्मी मौसममा पहिरनका विविध शैली र ढाँचा देख्नपाइन्छ । पद्मकन्या क्याम्पसमा पढ्ने सुपि्रया थापालाई भने जाडो महिनामा थन्काएर राखेका ड्रेसका दिन आउँदा निक्कै खुशी लागेको छ । उनी भन्छिन्, ‘पुरानाको फेसन गए पनि खुल्ला कपडामा हिंड्न त पाइने भो’ । ग्ल्यामरस र युवकहरुको मुटु जल्ने लुक दिनका लागि जाडोमा मन खुम्च्याएर बसेकालाई मौसमले मन र कपडा दुवै फुकाल्ने अवसर दिएको छ । त्यही वर्गकी हुन धोबीधाराकी सुम्निमा । अब मन र तन दुवै खोलेर फेसन दिन पाइने भो साथीका बीच हट र बोल्ड लुक दिने मौका जुराएकोमा गर्मीलाई धन्य भनिन् उनले । चर्को घाममा ग्ल्यामरस देखिन कम कपडामा सजिने उनी जस्ता युवतीलाई सन ब्लकले पनि साथ दिएको छ अनि त अंग प्रदर्शनका साथ ग्ल्यामरस देखिएका छन् आधुनिक युवती ।
चाहना ग्लामरस् लुकको
मौसम होइन फेसनमा फरक पार्छ उमेरले । भनिन्छ नि उमेरमा स्याल पनि घोर्ले । त्यही उमेरले कपडा किनाउँछ अनि ग्ल्यामरस देखिन अंग प्रदर्शन गराउँछ । पेशाले इन्जिनियर रितेश लामिछानेलाई उनकी छोरीले गर्मीका लागि चार जोर कपडा किनाइन । कुनै कुन चलचित्रकी नायिकाको त कुनै कुनको । सबै कपडा कम अंग बढी देखिने खालको । टिन एजर्सको चाहना कुरै छाडौं लामिछाने भन्छन् । सिनेमा र टेलिभिजनले छोटा पहिरनलाई पचाउने बनाएको छ । त्यसैले त अभिभावकले नै किनेर दिन्छन् छोराछोरीलाई । त्यसैले त लगाउँदा हलुका अनुभव हुने, पसिना सोस्ने र बाहीरबाट हेर्दा पनि आकर्षक हुने खालका ड्रेसको माग बढी छ बजारमा । गर्मीमा सबैभन्दा बढी चलनचल्तीमा रहने सर्ट पाइन्ट र कुर्ता सलवारका पनि विभिन्न संस्करण छन् बजारमा । अग्ली महिलाका लागि एक किसिमको पहिरन छ भने होचाका लागि अलिक भिन्न । न्यूरोडको फेसन ग्यालरीमा कपडा रोज्दै गरेकी २३ बर्षीया युवती सुनिता खतिवडा भन्छिन्, ‘मौसम र उमेरको कम्बिनेसन मिल्ने समय निक्कै कम छ । ग्लोबलाइजेसनको समयमा साडी चोलोमा मात्र सबै अंग ढाक्ने युवतीको कल्पना गर्नु हुँदैन । समय अनुसार छरितो पोसाकमा अरुले आहा… भन्ने बनेर हिंड्दा के भो त’।
मात्तिएको फेसन
फेसन भन्ने बित्तिकै सबैको ध्यान लुगामा जान्छ । तर फेसन कपडा मात्र होइन हिंड्ने शैली पनि हो । बस्ने उठ्ने, लगाउने, खाने, हिड्ने जस्ता सबै क्रियाकलापको शेली हो फेसन । त्यसलाई अंगालेका छन् काठमाडौका युवती पनि । अनि मल्लिका सेरावत, राखी सावन्त अनि एन्जोलिना जोलीको स्टाइल फलो गर्छन् । मल्लिकाको जस्तो बडी, राखीको जस्तो वक्ष र जोलीको जस्तो ओठ आइडिल हुन उत्तराधुनिक काठमाडौंका युवतीको । त्यसैले आउटलुक र बडीसेप सबैमा उस्तै ग्ल्यामर देखिन्छ । पश्चिमा मुलुकको फेसन शैलीले नेपाली युवा पुस्ता मात्तिए जस्तो देखिन्छ । साडी चोलोमा सबै अंग ढाक्ने नेपाली शैली कहाँ अनि कहाँको आधा बक्ष र घुँडामाथि सम्म खुलेको फेसन । वैंशालु उमेर सँगै कसिलो बनेका अंग प्रदर्शनले मौसमको गर्मीलाई थप गर्मी बनाउँछ युवकका लागि । मौसमको मात छर्छन् युवती । ‘साँच्चि गर्मीको मौसममा त सारै मातलाग्ग छ युवतीको फेसनले’ बागबजारको पद्यमकन्या क्याम्पस अगाडी फोटोकपीमा काम गर्ने रामकुमार श्रेष्ठले भने ।
सुरेश भुसाल
वर्गीकरण:
ग्ल्यामर,
जानकारी लेख,
स्वास्थ
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment